स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फाइनल हेर्न अमेरिका जानेः सरकार
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज
म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गर्नुभएको छ । सरकारले शुक्रबार यो जानकारी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार न्यू जर्सीमा हुने फाइनल हेर्न जाने योजना रहेको छ । सान्चेजले फाइनल खेलमा उपस्थित भई आफ्नो समूहलाई राम्रो प्रदर्शनका लागि प्रोत्साहन गर्नुहुनेछ र खेल सकिँदासाथ अल्जेरियाको औपचारिक भ्रमणमा जाने उहाँको मन्त्रिपरिषद्ले एएफपीलाई बताएको छ ।
अर्र्जेिन्टनासँग हुने फाइनल खेलमा स्पेनी राजा फिलिप छैटौँ, रानी लेटिजिया र उनीहरूका दुई छोरीहरू पनि उपस्थित हुने राजप्रासादले जनाएको छ ।
खेलमा अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइ भने उपस्थित नहुने सम्भावना रहेको छ ।
समाजवादी नेता सान्चेजको ट्रम्पसँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहेको छ । उहाँले अमेरिकी सेनालाई इरान युद्धका लागि स्पेनका आधारहरू प्रयोग गर्न दिनुभएको छैन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने अमेरिकी अभियानको विरोध गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले यसै महिना टर्कीमा भएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को शिखर सम्मेलनमा स्पेनलाई ‘नेटोमा भयानक साझेदार’ को संज्ञा दिनुभएको थियो र अमेरिकाले स्पेनसँग अब कुनै व्यापार नगर्ने बताउनुभएको थियो ।
सान्चेजले सम्बन्ध सुधार्न प्रयास गरेको देखिन्छ । शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा उहाँले दुई देशबीचको सम्बन्ध ‘सकारात्मक’ रहेको बताउनुभयो ।
उहाँले शिखर सम्मेलनका क्रममा ट्रम्पसँग फुटबलबारे ‘अनौपचारिक कुराकानी’ गरेको र ‘कुनै प्रकारको तनाव नभएको’ बताउनुभयो । एएफपी

