Fri. Sep 20th, 2024

अदालत र अख्तियारमा धूलो परेका फाइल सरकार निकाल्दैछ: मन्त्री ज्ञवाली

काठमाडौं, २०७७ माघ ११ गते आईतबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताउनु भएको छ । यसले पार्टीभित्र नयाँ तरंग आएको उहाँको भनाई छ ।

भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताउनु भयो । “वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्,” शनिबार ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो । उहाँले सुशासन कायम गर्न सरकार दृढ रुपले लागेको पनि बताउनु भयो ।

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ-गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘अबको विकल्प सडक होइन, निर्वाचन हो,’ उहाँले भन्नुभयो, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिएको उहाँको आरोप छ । दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको पनि उहाँले आरोप लगाउनु भयो । कान्तिपुर

Facebook Comments