Mon. Apr 27th, 2026

सञ्चारमन्त्री तिमिल्सिनासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

       

काठमाण्डू । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राजदूत झाङ माओमिङले नेपालमा नयाँ सरकार गठन भएकामा बधाई दिँदै दुई छिमेकी राष्ट्रबीच विद्यमान मित्रतालाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेपालमा राजनीतिक परिवर्तनपछि स्थायी र बलियो सरकार बनेकाले आर्थिक तथा सामाजिक विकासका लागि अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै त्यस किसिमको रुपान्तरणमा चीन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

राजदूत झाङले चीनले प्रविधिमा आधारित गुणस्तरीय उत्पादनमुखी नीति अवलम्बन गरिरहेको जानकारी दिँदै कृत्रिम बौद्धिकता तथा नवीनतम् सूचना प्रविधिका क्षेत्रमा प्राथमिकता दिइएको बताउनुभयो । नेपालले पनि यस्ता उन्नत प्रविधिका क्षेत्रमा चीनसँग सहकार्य गर्न सक्ने सम्भावनाबारे उहाँले अवगत गराउनुभयो । साथै, चिनियाँ लगानीमा नेपालमा सञ्चालन भइरहेका विभिन्न कम्पनीका लागि सहज र अनुकूल वातावरण बन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले नेपालले चीनसँगको निरन्तर सहकार्य, पारस्परिक हित र विकास साझेदारीलाई सधैँ प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले कनेक्टिभिटी पूर्वाधार निर्माण, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित क्षेत्रमा दुवै देशबीच सहकार्यको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले नेपाल सरकारले प्रविधिमा आधारित सुशासनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै सूचना प्रविधि, साइबर सुरक्षा, दूरसञ्चार तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा थप काम गर्ने बताउनुभयो । पछिल्लो समय राज्य संयन्त्रलाई डिजिटल माध्यमबाट प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने नीति सरकारको प्राथमिकतामा रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

चिनियाँ लगानीका कम्पनीहरूले नेपालमा काम गर्ने क्रममा केही समस्या भोग्नुपरेको भए त्यसको समाधानका लागि सरकार सदैव तयार रहेको स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई दुवै देशको आपसी हितका लागि अझ प्रगाढ बनाउन पहल आवश्यक रहेको बताउनुभयो । रासस

Facebook Comments