अफगानिस्तानमा घरको छत खस्दा पाँचको मृत्यु, दुई जना घाइते
अफगानिस्तान
काबुल । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा शनिबार घरको छत खस्दा एउटै परिवारका पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ । प्रान्तीय राजधानी काला-ए-नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितमा चार बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्य घाइते भएका छन् ।
यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो । युद्ध पछिको अफगानिस्तानका मानिस प्रायः माटोका घरमा बस्छन्, जुन वर्षा र बाढीलगायत प्राकृतिक प्रकोपको जोखिममा छन् । अफगानिस्तानका केही भागमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरिरहेको जनाइएको छ । रासस/सिन्ह्वा

