Fri. May 3rd, 2024

रुसी विपक्षी नेता एलेक्सी नभाल्नी हिरासतमा, बाइडनको टोलीद्वारा निन्दा

काठमाडौं, २०७७ माघ ५ गते सोमबार

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाउनु भएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै आईतबार हिरासतमा लिइएको छ।

उहाँलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्।

क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।

उहाँलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उहाँको विमान अन्यत्रै ओरालिएको थियो।

नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले उहाँको आरोप सही भएको बताएका छन् तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ।

बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरे।

अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन्।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई अस्वीकार्य भन्नु भएको छ।

‘उहाँलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु’, मिसेलले ट्वीटमा लेख्नु भएको छ । बिबिसी

Facebook Comments