Sat. Apr 25th, 2026

दशकौँको अस्थिरतापछि बालेन्द्र सरकारः अवरोध होइन, परिणाम खोजौँ

- सम्पादकीय

       

✍️ सम्पादकीय…..

नेपालको राजनीतिक इतिहासमा २०८२ फागुन २१ गते बिहीवार सम्पन्न भएकोे आमनिर्वाचन केवल अर्को नियमित प्रजातान्त्रिक प्रक्रिया मात्र होइन, यो एक गहिरो सन्देश बोकेको मुलुककै ऐतिहासिक मोड पनि हो । झण्डै साढे तीन दशक लामो राजनीतिक अस्थिरता, सत्ता-स्वार्थमा केन्द्रित दलगत अभ्यास, लोकतन्त्रका नाममा बढ्दो विकृति र विसंगति, भ्रष्टाचार, नातावाद, कृपावाद र पार्टीवादप्रति जनतामा सञ्चित आक्रोश यस निर्वाचनमार्फत स्पष्ट रूपमा अभिव्यक्त भएको छ । यही सन्दर्भमा बालेन्द्र शाह नेतृत्वमा निर्माण भएको दुईतिहाइ नजिकको शक्तिशाली सरकारलाई केवल सत्ता परिवर्तनको रूपमा मात्र होइन, साशकीय प्रणाली सुधारको अवसरका रूपमा पनि हेर्नुपर्छ ।

यो जनादेश सामान्य हुँदै होइन । यो जनताको धैर्यको अन्तिम सीमा हो, जसले अब परिणाममुखी शासनको अपेक्षा राखेको छ । लाखौं युवा र विद्यार्थीहरूको विदेश पलायन, देशभित्र अवसरको अभाव, शिक्षा र रोजगारीको कमजोर अवस्था तथा राज्यका निकायहरूमा व्याप्त अपारदर्शिता र भ्रष्टाचारले समाजलाई गहिरो रूपमा आक्रान्त बनाएको छ । यस्ता समस्याहरू समाधान गर्नका लागि मात्र होइन समग्र प्रणालीलाई पुनःसंरचना गर्नका लागि यो सरकारलाई ऐतिहासिक अवसर प्राप्त भएको छ ।

तर, अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर छन् । शक्तिशाली सरकार हुनु भनेको मात्र निर्णय लिन सजिलो हुनु होइन, ती निर्णयहरू जनहितमा, पारदर्शी र उत्तरदायी हुनुपर्ने दायित्व पनि हो । विगतमा शक्तिको दुरुपयोगले नै लोकतन्त्रलाई कमजोर बनाएको अनुभव हामीसँग ताजै छ । त्यसैले बालेन्द्र सरकारका लागि सबैभन्दा ठूलो परीक्षा नै आफूलाई फरक प्रमाणित गर्नु हो-काम, व्यवहार र परिणाममार्फत ।

त्यसैले बालेन्द्र सरकारको सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्छ-सुशासन । भ्रष्टाचार नियन्त्रण बिना कुनै पनि विकास सम्भव हुँदैन । केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म व्याप्त भ्रष्टाचारलाई निर्मूल पार्न कठोर र निष्पक्ष कदम चाल्नु अपरिहार्य छ । संवैधानिक निकायहरूमा हुने दलीय भागबण्डा र राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै योग्य, सक्षम र निष्पक्ष व्यक्तिहरूको नियुक्ति गरिनुपर्छ । यसले मात्र संस्थागत विश्वसनीयता पुनस्र्थापित गर्न सक्छ ।

त्यसैगरी, शिक्षा र रोजगारी क्षेत्र सुधार अर्को महत्वपूर्ण आयाम हो । आज हजारौं विद्यार्थी उच्च शिक्षा प्राप्त गर्न विदेश जान बाध्य छन् । यसले देशबाट ठूलो परिमाणमा पूँजी बाहिरिने मात्र होइन प्रतिभा पलायनको समस्या पनि सिर्जना गरेको छ । यदि देशमै गुणस्तरीय शिक्षा, अनुसन्धानको वातावरण र रोजगारीका अवसर सिर्जना गर्न सकियो भने यो प्रवृत्तिलाई रोक्न सकिन्छ । यसका लागि दीर्घकालीन नीति, निजी क्षेत्रसँग सहकार्य र प्रविधिमैत्री शिक्षण प्रणाली आवश्यक छ ।

आर्थिक विकासको सन्दर्भमा पनि सरकारलाई स्पष्ट दृष्टिकोण आवश्यक छ । स्वदेशी उत्पादनको प्रवद्र्धन, उद्योगधन्दा विस्तार, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन क्षेत्रको प्रभावकारी उपयोगमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिन्छ । विदेशी लगानी आकर्षित गर्ने वातावरण बनाउनुका साथै स्वदेशी पूँजीलाई प्रोत्साहन गर्ने नीति पनि उत्तिकै आवश्यक छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारलाई पाँच वर्ष अवरोधविहीन रूपमा काम गर्ने अवसर दिनु पनि उत्तिकै आवश्यक छ । राजनीतिक खिचातानी, अनावश्यक अवरोध र सत्ता-लोलुप खेलले फेरि पनि देशलाई अस्थिरतातर्फ धकेल्न सक्छ । त्यसैले सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सहकार्यको भावना विकास गर्नुपर्छ ।

तर, केवल सरकारको एकल प्रयासले मात्र यी परिवर्तन सम्भव हुँदैनन् । यसका लागि सम्पूर्ण समाजको सहकार्य अपरिहार्य छ । कर्मचारीतन्त्रले निष्पक्ष र इमान्दार भएर काम गर्नुपर्छ । शिक्षकहरूले गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध हुनुपर्छ । विद्यार्थीहरूले अध्ययनप्रति गम्भीरता देखाउनुपर्छ । राजनीतिक दलहरूले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । समाजसेवी, मानवअधिकारवादी, कानून व्यवसायी, व्यापारी र उद्योगपतिहरूले पनि आफ्नो क्षेत्रबाट सकारात्मक योगदान दिनुपर्छ ।

जनताको भूमिका झन् महत्वपूर्ण छ । लोकतन्त्रमा नागरिक केवल मतदाता मात्र होइनन्, उनीहरू राज्यका सह–निर्माता हुन् । सरकारलाई निरन्तर खबरदारी गर्ने, गलत निर्णयको विरोध गर्ने र सही काममा साथ दिने जिम्मेवारी जनताकै हो । यदि जनताले आफ्ना अपेक्षाहरू स्पष्ट रूपमा व्यक्त गर्दै सरकारसँग उत्तरदायित्व माग्न सके भने मात्र लोकतन्त्र सुदृढ हुन्छ ।

बालेन्द्र शाह नेतृत्वको सरकारलाई पाँच वर्ष अवरोधविहीन रूपमा काम गर्ने अवसर दिनु पनि उत्तिकै आवश्यक छ । राजनीतिक खिचातानी, अनावश्यक अवरोध र सत्ता-लोलुप खेलले फेरि पनि देशलाई अस्थिरतातर्फ धकेल्न सक्छ । त्यसैले सबै पक्षले राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सहकार्यको भावना विकास गर्नुपर्छ ।

अन्ततः, फागुन २१ को जनादेश केवल सरकार गठनको प्रक्रिया होइन, यो एक नयाँ युगको सुरुवात हो । यदि यो अवसरलाई सही रूपमा उपयोग गर्न सकियो भने नेपालले विकास, समृद्धि र स्थायित्वतर्फ ठोस कदम चाल्न सक्छ । तर यदि फेरि पनि विगतकै गल्ती दोहोरियो भने जनताको विश्वास पुनः प्राप्त गर्न निकै कठिन हुनेछ ।

त्यसैले आजको आवश्यकता-आशा मात्र होइन, जिम्मेवारी पनि हो । सरकार, राजनीतिक दल, कर्मचारी, निजी क्षेत्र र जनता-सबैले आफ्नो-आफ्नो ठाउँबाट इमान्दार प्रयास गरे मात्र “नयाँ नेपाल” को सपना साकार हुन सक्छ ।

आउनुहोस् हामी सबै मिलेर यस मुलुकलाई समृद्धिको यात्रातर्फ लैजान एकजुट होऔं ।

रमेश हतुवाली
सम्पादक

Facebook Comments