Mon. Feb 23rd, 2026

संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव   

       

भैरहवा (रूपन्देही) ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

रूपन्देहीको भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले वर्तमान संविधानले मधेशी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको धारणा राख्नुभयो । उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेशको सीमाङ्कन गरिनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताउनुभयो । वर्तमान प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको उहाँको आरोप थियो ।

सो अवसरमा अध्यक्ष यादवले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक तथा प्राविधिक पहल तीव्र बनाउन आग्रह गर्नुभयो । उहाँले जनता समाजवादी पार्टीले सुरुदेखि नै मधेशको समस्याका बारेमा आवाज उठाउँदै आएको र सबै समस्या बुझेको पार्टी भएको बताउनुभयो । रासस

Facebook Comments