Mon. May 25th, 2026

भेनेजुएला कारबाहीमा राष्ट्रसङ्घको चिन्ता   

       

जेनेभा । संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले अन्तर्राष्ट्रिय कानूनका मौलिक सिद्धान्तहरूलाई स्पष्ट रूपमा अवमूल्यन गरेको चेतावनी दिएको छ ।

मङ्गलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भन्नुभयो, “कुनै पनि राज्यले अर्को राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताको विरुद्ध धम्की दिन वा बल प्रयोग गर्न हुँदैन ।” उहाँको यो प्रतिक्रिया शनिबार बिहान अमेरिकी कमान्डोहरूले युद्धविमान र भारी नौसैनिक तैनाथीको समर्थनमा भेनेजुएलाको राजधानीमा कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएपछि आएको हो ।

प्रवक्ता शामदासानीले भेनेजुएलामा लामो समयदेखि भइरहेको र गम्भीर मानव अधिकार उल्लङ्घनलाई आधार बनाएर गरिएको अमेरिकी औचित्यलाई अस्वीकार गर्नुभयो । “अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्दै गरिएको एकपक्षीय सैन्य हस्तक्षेपमार्फत मानव अधिकार उल्लङ्घनका लागि जवाफदेहिता हासिल गर्न सकिँदैन”, उहाँले जोड दिनुभयो ।
उहाँले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले विगत एक दशकदेखि भेनेजुएलाको अवस्था निरन्तर बिग्रँदै गएको विषयमा प्रतिवेदन गर्दै आएको स्मरण गराउनुभयो । तर अमेरिकी हस्तक्षेपका कारण हाल देखिएको अस्थिरता र बढ्दो सैन्यीकरणले परिस्थितिलाई अझै खराब बनाउने जोखिम रहेकोप्रति राष्ट्रसङ्घ चिन्तित रहेको उहाँले स्पष्ट पार्नुभयो । एएफपी

Facebook Comments