Sun. May 24th, 2026

समाजका विकृति हटाउन सञ्चार जगतले सकारात्मक दबाब सिर्जना गर्छः प्रहरी महानिरीक्षक कार्की   

       

देवदह (रुपन्देही) । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समाजका विकृति र विसङ्गति हटाउन सञ्चार जगतले सकारात्मक दबाब सिर्जना गर्ने बताउनुभएको छ । सञ्चार जगत्ले सन्तुलित किसिमले काम गर्दा त्यसले सञ्चारप्रतिको विश्वास वृद्धि हुने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ११ औँ स्थापना दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित शान्ति पदयात्रापश्चात् समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार जगत्ले जनचेतना अभिवृद्धि गरेर अपराध नियन्त्रणमा सहयोग पु¥याउन सक्ने धारणा राख्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले मिडियाकर्मी र प्रहरीबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको तीनदिने न्यूज फेस्टिभलमा नेपाल र भारतका पत्रकार, उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागीता रहेको कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो । रासस

Facebook Comments