Wed. May 6th, 2026

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

       

भिओेके समाचार काठमाण्डू । नेपाल कानून समाज र जेन्जीका समूहहरूले संयुक्त रूपमा आज काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा जेन्जी अगुवा रवि किरण हमालले देशको वर्तमान संवैधानिक तथा राजनीतिक संकटबाट बाहिर निस्कन सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको एकमात्र निकास भएको दाबी गर्नुभएको छ ।

उहाँले अहिलेको संरचनाभित्र रहेर गरिने चुनाव वा सतही सुधारले समस्या समाधान नगर्ने स्पष्ट पार्दै सरकारद्वारा घोषणा गरिएको फागुन २१ गतेको निर्वाचनले निकास दिनुभन्दा देशलाई अझै जटिल संकटतर्फ धकेल्ने चेतावनी दिनुभयो ।

भदौ २३ र २४ गते नेपालको नवोदित पुस्ताबाट देखिएको विद्रोहलाई सामान्य असन्तुष्टि होइन, राज्य संरचनाविरुद्धको गहिरो राजनीतिक चेतनाका रूपमा हमालले व्याख्या गर्नुभएको छ । उक्त विद्रोहको भावना र मागलाई राज्यले स्वीकार गरी त्यसअनुसार अगाडि नबढे पुनः देश अशान्ति, द्वन्द र अस्थिरताको चक्रमा फस्ने गम्भीर जोखिम रहेको उहाँको भनाइ थियो। उहाँले अहिलेको संकट समाधानका लागि पुरानै सोच, पुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुने समेत उल्लेख गर्नुभयो ।

हमालले संसद पुनःस्थापनाको बहस पूर्ण रूपमा समाप्त भइसकेको स्पष्ट पार्दै त्यसबारे फेरि चर्चा गर्नु नै जेन्जी विद्रोहमाथिको विश्वासघात हुने चेतावनी दिनुभयो। उहाँले जनताको आवाज नसुनेको, जनआक्रोशलाई बेवास्ता गरेको र अन्ततः विद्रोह निम्त्याएको त्यही संसदबाट बनेको सरकारले दमनको नाममा ठूलो संख्यामा नागरिकको हत्या गरेको स्मरण गराउँदै त्यस्तो संसद पुनःस्थापना हुन नसक्ने दाबी गर्नुभयो ।

जेन्जी अगुवा किरणले सुशीला कार्की र ओमप्रकाश अर्यालको समूहले जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाएका छन्। विद्रोह अपहरण गर्दै सत्ता कु गरेर कार्कीहरू आएपछि एकातर्फ दमनकारी शक्तिहरू अझै सशक्त रूपमा उदाउँदै जाने र अर्कोतर्फ जेन्जी विद्रोहलाई अपराधीकरण गर्ने तथा देशद्रोही करार गर्ने योजनाबद्ध दुष्प्रयास भइरहेको उहाँको दाबी थियो।

कार्यक्रममा जेन्जी अगुवा मिराज ढुङ्गानाले पनि सुशीला कार्की नेतृत्वको सरकार असफल भएको दाबी गर्नुभएको छ । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली लगायतका मुद्दाहरू सम्बोधन नभएसम्म चुनावको कुनै अर्थ नरहेको समेत बताउनु भयो । उहाँले पहिला निकास त्यसपछि निर्वाचन भन्नु भएको छ ।

कार्यक्रममा जेन्जी अगुवार सुनिल सिंह, अजय सोडारी, सुरेन्द्र घर्ती, सरिश्मा थापा लगायतले सम्बोधन गर्नुभएको थियो । उहाँहरुको भनाई अनुसार अबको वास्तविक निकास जेन्जी विद्रोही शक्तिहरू, राजनीतिक दलहरू र प्रबुद्ध वर्गबीचको व्यापक सर्वपक्षीय सहमतिबाट सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु हो। यही प्रक्रियाबाट मात्रै देशलाई संवैधानिक, राजनीतिक र सामाजिक रूपमा संकटमोचन गर्न सकिन्छ ।

Facebook Comments