Tue. May 26th, 2026

पत्रकार खनियालाई मृत अवस्थामा भेटियो

       

भिओके समाचार/काठमाण्डू । रेडियो अडियोका सञ्चालक तथा पत्रकार दीपेन्द्र खनिया मृत अवस्थामा भेटिनु भएको छ । काठमाण्डू महानगरपालिका वडा नम्वर १० बानेश्वरनजिक थापागाउँमा उहाँ बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिनु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उहाँको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक हुनुहुन्थ्यो।

पत्रकार खनियाले पत्रकारीताको सुरुवात रेडियो सगरमाथाबाट गर्नुभएको थियो । विनम्र स्वभाव, लगनशील, काम प्रतिको इमान खनीयाको परिचय भएको उहाँका साथीहरु बताउनुहुन्छ । त्यस्तो मान्छेले यस्तो काम किन र कसरी गरे भन्ने प्रश्न धेरैको मनमा उठेको रेडियो सगरमाथाका पूर्व स्टेशन म्यानेजर तथा प्राध्यापक डा. घमराज लुईटेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

प्रा.डा.लुईटेलले पत्रकार खनियाका बारेमा लेख्नु भएको भावनात्मक स्टाटस जस्ताको तस्तै :

म रेडियो सगरमाथामा वरिष्ठ कार्यक्रम निर्माताका रूपमा काम गरिरहेको थिएँ । २०५६ साल हिउँदतिरको कुरा हो । एउटा नवयुवक रेडियोमा आयो र मेरा मित्र रघु मैनालीका साथै मलाई भेट्यो । उसले भन्यो – रेडियोमा केही गर्ने इच्छा छ, कसरी गर्न सकिन्छ ? मैले सल्लाह दिएँ- सुरुमा प्रशिक्षार्थीको रूपमा सिक्नुपर्छ, जाँगर चल्यो भने राम्रै गर्न सकिन्छ । वीर अस्पताल लाइनको एउटा फार्मेसीमा औषधि बेच्ने काम गर्दो रहेछ । उसलाई त्यताभन्दा रेडियोको आकर्षणले तानेको रहेछ ।

रेडियो सगरमाथामा भाग्य अजमाउन आउनेको कमी थिएन । कति केही दिन धाएपछि कुरो बुझेर भाग्थे । कति त्यहीँबाट करिअर बनाउँथे । हामी परख गर्ने गर्थ्यौँ । उसले राम्रै लगाव देखायो । मलाई बारम्बार यौटै प्रश्न गर्ने गर्थ्यो- सर, के म प्रोड्युसर (निर्माता) बन्न सक्छु ? उसको स्वर अलिक दबेको थियो । स्वरको थेरापी गर्नुपर्ने सल्लाह दिएपछि त्यो पनि गर्‍यो । राम्रा रिपोट बनाउन थाल्यो । फिचर बनाउन थाल्यो । एक समय काम गरेर पहिचान बनाएपछि सगरमाथाको सामुदायिक स्कूल उत्तीर्ण गरेर रेडियो उद्योगको विश्वविद्यालयतिर मोडियो ।

अलि पछि उसले रेडियो अडियो खोल्यो । दुनियाँलाई हँसायो । बेलाबेलामा फोन गर्थ्यो । उही विनम्रता थियो । यद्यपि मेरो र उसको बाटो यौटै खाले थिएन । म रेडियो सगरमाथाको सेवाबाट २०६८ सालमा स्टेसन म्यानेजर पदबाट राजीनामा दिएर अलग्गिएपछि मिडियामा काम गरिनँ । म अध्यापनतिर मोडिएँ । कक्षामा रमाउन थालेँ । आफ्ना अनुभवका आधार र आर्जित सैद्धान्तिक ज्ञानको संश्लेषण विधिबाट म विद्यार्थीहरूका माझमा जान रुचाएँ र अझै विश्वविद्यालयका कक्षाहरूमा नै रमाइरहेको छु । मलाई पढाउँदा आनन्द लाग्छ, जति रेडियोको माइकमा बाेल्दा लाग्थ्यो । म कक्षामा विद्यार्थीसँग हाँस्छु, हसाउँछु, बेलाबेला रिसाएको अभिनय गर्छु । घुर्क्याउँछु । सबै जुक्ति प्रयोग गर्छु मेरो कक्षालाई प्रभावकारी बनाउन ।

ऊ रेडियो अडियोमा कति हाँस्यो, कति रिसायो, कति कसलाई घुर्कयायो, यो त मलाई थाहा भएन । तर एउटा समाज परिवर्तनका लागि गम्भीरतापूर्वक काम गरेको रेडियो सगरमाथाको सिपाहीले रेडियो अडियोमार्फत् धेरैलाई हँसायो । धेरैका दुःखमा मलम पट्टी लगायो । छ-सात वर्षपहिले म विहान मदन भण्डारी मेमोरियल कलेजमा पढाउँथेँ । एक दिन उसको फोन आयो । भेट्न मन छ भन्यो । छेवैमा रेडियोको लागि जग्गा किनेको रहेछ । खुशी हुँदै देखायो । पछि घर बनाउन थाल्यो । मैले मदन भण्डारी मेमोरियल कलेज छोडिसकेको थिएँ । उसले मलाई रेडियोको घर देखाउन लैजान्छु भन्यो । हुन्छ भनेँ । तर घर हेर्न जाने साइत चाहिँ जुरेन ।

हरेक गुरु पूर्णिमामा फोन गरेर ढोग गरेँ भन्थ्यो । उसले मलाई सधैँ अग्रज र गुरुका रूपमा व्यवहार गर्‍यो । म जस्ता मान्छे नियुक्त गर्ने हैसियत बनाएर पनि कहिल्यै घमण्ड देखाएन । बेला बेला सल्लाह माग्थ्यो । सधैँ विनम्र । उसले नेपाली हास्य कला र सिने क्षेत्रमा असाध्यै गुन लगायो । कलाकारहरूको जन्म दिन मनाइदिने चलन बसाल्यो । कैयौँ कलाकार उसकै रेडियोबाट खारिए । ऊ पनि खारिँदै गइरहेको छ भन्ने लाग्थ्यो । मलाई उसका जीवनका भित्री पाटा त थाहा छैनन् ‍- कुन दुःखको पहाडले उसलाई थिचेको थियो ? कुन भवसागरले उसलाई निल्न थालेको थियो । पत्याउन सकेको छैन ।

मैले वरिष्ठ पत्रकार गोपाल गुुरागाईलाई फाेन गरेर कुरा बुझ्न खोजेँ । फोन उठेन । शिखालाई फोन गर्ने आँट गरिन । म ऊ,प्रिय दीपेन्द्र खनियाँ भाइबारे फैलिएका खबर झूटा भैदिए हुन्थ्यो भन्ने कामना गर्दछु । जीवनमा जुझ्न सानैदेखि सिकेको मान्छे । कसरी हार खायौ भनौँ । कसरी दिउँ श्रद्धाञ्जली दीपेन्द्र भाइ तिमीलाई ?!

Facebook Comments