Mon. Apr 29th, 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न

- विराटनगरमा यसरी सम्पन्न भयो २०७७ सालको छठ पर्व

विराटनगर, २०७७ मंसिर ६ गते शनिबार

पूर्वी तराईका विभिन्न जिल्लाहरुमा उदाउँदो सूर्यलाई अर्घ्य दिंदै आज विहान छठ पर्व सम्पन्न गरिएको छ ।

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य  दिएका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षहरुमा भन्दा केही फरक ढंगले छठ पर्व मनाइएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि विगतमा नदी, खोला, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएको थियो ।

मोरंगको सिंगिया, ल्हान्द्रा, वक्राहा सुनसरीको सुनसरी, झापाको माई, मेची, रतुवा लगायतका खोला तथा नदी एवम् तालतलैया, पोखरीहरु र चतहरा नहरका मुख्य तथा शाखा नहरहरु यस पटक कोरोना भाइरस संक्रमणको त्रासको कारण विशेष किसिमले सजाईएनन् ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने परम्परा भए पनि कतिपयले यसवर्ष घरको छत र आँगनमै सजिसजाउ पारेर छठ पर्व मनाएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो ।

विराटनगर महानगरपालिका वडा नं.८ मधुमारा भक्तिचोकका व्यवसायी भोला शाह र लक्ष्मी शाहले यस वर्ष घरको छतमै कृत्रिम पोखरी बनाएर त्यसमै स्थान गरी भव्य रुपमा छठ पर्व मनाउनु भयो ।

त्यसैगरी सोही वडाको समता चोकस्थित लक्ष्मि गिरी र उहाँका छिमेकीहरुले खेतवारीमा पोखरी निर्माण गरी पूजापाठ गर्नुभयो भने मधुमारास्थित हरिहरचोकका दिलिप लिम्बू र पूर्णिमा लिम्बूले घरको आँगनमै अस्थायी पोखरी खनेर पानी जम्मा गरि फूल, माला, विजुली वत्ति आदिले सजिसजाउ पारेर पूजाआराधना गर्नुभएको थियो ।

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ ।

ठूला नदी तथा खोलाहरुमा अत्याधिक मानिसहरुको भिडभाड हुने समय र पैसा दुवैको नष्ट हुने साथै शहरी क्षेत्रका खोला तथा नदीको पानीमा ढल समेत मिसिएको अवस्थामा स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न हुने भएकाले यस पटक अबलम्वन गरिएको छठघाटको निर्माण र पूजा गर्ने विधिलाई निरन्तरता दिन सके स्वस्थ समाजको निर्माणमा सहयोग पुग्ने र हाम्रा मौलिक संस्कृतिहरुको पनि संरक्षण हुने देखिन्छ ।

फोटो: रमेश हतुवाली/कला त्रिताल

Facebook Comments