Mon. Apr 20th, 2026

प्रधानमन्त्री ओली दोहामा   

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा गए राति कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले स्वागत गर्नु भएपछि प्रधानमन्त्रीसँग राजदूत पौडेललगायत । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

       

दोहा, २०८२ असार १५ गते आइतबार । प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा उहाँ यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समयअनुसार गए राति ११ः१५ बजे हमाद अन्तरराष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो । उहाँलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चअधिकारीहरू र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चुडामणि कार्कीले पनि भ्रमण दललाई स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाण्डूबाट प्रस्थान गर्नुभएको हो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिड पुग्नेछ । भ्रमणको दोस्रो दिन असार १५ गते दिउँसो भ्रमण टोली स्पेनको सेभियामा पुग्नेछ । त्यसपछि नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

एक्काइस सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनुहुन्छ ।   रासस

Facebook Comments

सम्बन्धित समाचार