Sun. May 24th, 2026

लन्डन जाँदै गरेको २४२ जना यात्रु सवार विमान भारतमा दुर्घटनाग्रस्त   

- एयर इंडिया विमान दुर्घटना

       

अहमदाबाद (भारत), २०८२ जेठ २९ गते बिहीबार । भारतको पश्चिमी सहर अहमदाबादमा आज लन्डन जाने एयर इंडियाको यात्रु विमान दुर्घटना भएको छ । विमानमा २ सय ४२ जना यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ ।

अहमदाबाद, जुन १२, २०२५ (सिन्ह्वा) — भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको भग्नावशेष नजिकै उद्धारकर्ताहरूको तस्बिर देखाइएको छ, जुन १२, २०२५। भारतको विदेश मन्त्रालयले भनेको छ कि पश्चिमी राज्य गुजरातमा लन्डन जाँदै गरेको उडानमा २४२ जना सवार विमान दुर्घटनामा धेरै मानिसहरूले ज्यान गुमाएका छन्। (सिन्ह्वा)

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७-८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताउनुभयो । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखे ।

अहमदाबाद, जुन १२, २०२५ (सिन्ह्वा) — मानिसहरूले भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको भग्नावशेष हेरिरहेका छन्, जुन १२, २०२५।

भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, “जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।”

भारतको नागरिक उड्डयन प्राधिकरणका अनुसार सो विमानमा २ जना पाइलट र १० जना चालक दलका सदस्यसहित २ सय ४२ व्यक्ति सवार भएका थिए । प्राप्त समाचार अनुसार विमानमा १ सय ६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ । एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयको भनाइ छ ।

भारतको उत्तरपश्चिमी शहर गुजरात राज्यको अहमदाबादमा बिहीबार, जुन १२, २०२५ मा दुर्घटनाग्रस्त भएको विमानको स्थलमा अग्नि नियन्त्रकहरू काम गरिरहेका छन्। (एपी फोटो/अजित सोलंकी)

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिनुभयो ।

“उद्धार टोली परिचालन गरिएको छ र घटनास्थलमा चिकित्सा सहायता र राहत सहयोग पुर्‍याउन सबै प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “मेरो विचार र प्रार्थना जहाजमा रहेका सबै र उनीहरूका परिवारसँग छ ।”

एयर इन्डियाले दुर्घटनाको पुष्टि गरेको छ ।

“अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु”, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भन्नुभयो, “हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।”

एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको र जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उहाँले बताउनुभयो ।

भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो ।

सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो ।

दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् ।

उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो । एएफपी

Facebook Comments