Sun. May 31st, 2026

सी-ट्रम्प फोन वार्ता चीन-अमेरिका सम्बन्धको लागि राम्रो संकेतः अमेरिकी विद्वान

       

काठमाण्डू, २०८२ जेठ २५ गते आईतबार । विश्वका दुईवटा ठूला अर्थतन्त्रहरूले कर र अन्य विवादहरूमा आलोचना गरिरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार भएको फोन वार्ता चीन-अमेरिका सम्बन्धका लागि राम्रो दिन आउने संकेत भएको एकजना अमेरिकी विद्वानले बताएका छन् ।

ट्रम्पद्वारा सुरु गरिएको फोन वार्तामा राष्ट्रपति सीले चीन र संयुक्त राज्य अमेरिकाका लागि संवाद र सहयोग एक मात्र सही विकल्प भएको बताउनुभयो । दुवै नेताहरुबीचको फोनवार्ताका विषयमा प्रतिक्रिया दिनुहुँदै चीन-अमेरिका अध्ययन संस्थानका प्रतिष्ठित फेलो डेनिस साइमनले दुवै पक्षले सहमति निर्माण गर्न, गलत प्रचार हटाउन, सहयोगलाई बलियो बनाउन, विदेश मामिला, अर्थतन्त्र, व्यापार, सैन्य र कानून प्रवर्तन जस्ता क्षेत्रहरूमा सञ्चार बढाउनु उपयुक्त बताउनुभयो ।

लामो समयको अन्तरालपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता, दुवै नेताहरुबीचको फोनवार्ताले राम्रो दिन आउने संकेत गरेको अमेरिकी विद्वान डेनिस साइमनको भनाई ।।

हिजो शुक्रबार चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) सँगको एक अन्तर्वार्तामा डेनिस साइमनले दुवै नेताहरुबीच सम्पन्न फोन वार्ताई “प्रगति” भनि टिप्पणी गर्नुभयो । डेनिस साइमनका अनुसार सो वार्ता गत महिना जेनेभामा भएको आर्थिक र व्यापार वार्ताको गतिमा निर्माण भएको उल्लेख गर्दै अब दुवै पक्षले आगामी संवादको आवश्यकतामा सहमति जनाएको बताउनुभयो ।

डेनिस साइमनका अनुसार अब दुवै जनाले प्रत्यक्ष सञ्चार नै अगाडि बढ्ने एक मात्र तरिका हो भनि बुझेको पनि बताउनुभयो । डेनिस साइमनले राष्ट्रपति ट्रम्प फोेनवार्ताका लागि विशेष रूपमा उत्सुक हुनुभएको हुनाले पनि आगामी दिनहरु केही राम्रा हुनसक्ने प्रतिक्रिया दिनुभयो । साइमनका अनुसार दुवै पक्षले सम्बन्ध सुधार्न पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जित सहयोगको सिद्धान्तहरू पालना गर्नुपर्छ ।

चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित–जित सहयोगको पक्ष लिँदै आएको बताउँदै डेनिस साइमनले दुवै नेताहरुबीचको सम्वादले आगामी वार्ताको वातावरण बनाउन सहयोग पुग्ने धारणा पनि व्यक्त गर्नुभयो । दुवै पक्षवीच विभिन्न प्रचारवाजी भए पनि आमनेसामने कुराकानी गर्दा वीचमा भएका भ्रमहरु हटाउन र अर्थपूर्ण प्रगति गर्नका लागि उत्तम माध्यम हुने डेनिस साइमनको बुझाई छ ।

अमेरिकामा जारी भिसा रद्द गर्ने धम्कीहरूको बीचमा, ट्रम्पले सीलाई चिनियाँ विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा स्वागत छ भनी बताएको जानकारी दिईएको छ । यो कथनलाई चीनमा धेरैले सकारात्मक हेरिएको पनि डेनिस साइमनले बताउनुभयो ।

Facebook Comments