Wed. May 6th, 2026

पर्यटन व्यवसायीहरूका लागि निःशुल्क चिनियाँ भाषा प्रशिक्षण सुरु

       

रमेश हतुवाली/काठमाण्डू, २०८२ जेठ २३ गते शुक्रबार । नेपाली पर्यटन व्यवसायीहरूका लागि सातौं चरणको निःशुल्क चिनियाँ भाषा प्रशिक्षण कक्षा सुरु भएको छ

काठमाण्डूस्थित नेपाल पर्यटन बोर्डमा एक भव्य समारोहबीच आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि प्रसाद पाण्डे र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सो कक्षाको सुभारम्भ गर्नुभएको हो । सो समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न भाषाको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउनुभयो । चिनियाँले नेपाली भाषा र नेपालीले चिनियाँ भाषा जान्ने कुरा तुलनात्मक रुपमा कम भएको जानकारी दिनुहुँदै मन्त्री पाण्डेले त्यसलाई बढाउन नेपाल पर्यटन वोर्ड लगायतका संस्थाहरु क्रियाशिल रहेको बताउनुभयो । नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरुका लागि पथ प्रदर्शक र टुर गाईडको भूमिका निर्वाह गर्न सके त्यो नेपालका लागि ठूलो सम्पत्ति हुने मन्त्री पाण्डेको भनाइ छ ।

बद्रि प्रसाद पाण्डे, मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

कार्यक्रममा बोल्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्ष भएको र नेपाल पर्यटन वर्ष पनि भएको उल्लेख गर्नुभयो । साथै उहाँले यो वर्ष नेपालको दशकीय पर्यटन कार्ययोजनाको महत्वपूर्ण वर्ष समेत भएको बताउनुहुँदै यस विशेष वर्षमा चीनले नेपाली पर्यटन क्षेत्रका प्रतिभाहरूको चिनियाँ भाषा प्रशिक्षणको नयाँ अध्याय सुरु गरेको जानकारी दिनुभयो ।

चीन विश्व पर्यटन व्यवस्थालाई पुनर्निर्माण गर्ने प्रमुख शक्तिको रूपमा उदाएको भन्दै चिनियाँ राजदूत छन् सोङले चीन लगातार कयौ वर्षदेखि विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पर्यटक स्रोतको राष्ट्र तथा सबैभन्दा बढी पर्यटन क्षेत्रमा खर्च गर्ने देश बनेको पनि बताउनुभयो । चिनियाँ सामाजिक सञ्जालमा नेपाललाई “देवताहरूको सबैभन्दा नजिकको देश“ र “ट्रेकिंग प्रेमीहरूको लागी स्वर्ग को देश भनेर चिनिएको बताउनुहुँदै राजदूत छन् सोङले विगत केही वर्षमा, चीन–नेपाल “बेल्ट एन्ड रोड“ पहलको सहयोग गहिरिँदै जाँदा, दुबै देशले सीमा चौकी, सडक, रेल, विमान सेवा र पावर ग्रिड जस्ता क्षेत्रमा अन्तरकनेक्टिभिटी बढाउन महत्वपूर्ण प्रगति हासिल गरेको उल्लेख गर्नुभयो ।

छन् सोङ, नेपालका लागि चिनियाँ राजदूत

नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले भाषा र संस्कृति दुई देश र दुई देशका जनतालाई जोड्ने पुल भएको बताउनुहुँदै पर्यटन जस्तो क्षेत्रमा भाषाको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत ऐरले कोभिड अघि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकहरुको संख्या उल्लेख्य भएको जानकारी दिनुहुँदै चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न हरक्षण तत्पर रहेको बताउनुभयो । नेपाल र चीनबीचको सम्बन्धलाई जनताका माझमा पुर्याउन चिनियाँ भाषाको महत्वपूर्ण भूमिका हुने भएकाले भाषा कक्षाबाट लाभ उठाउन पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

हिक्मत सिंह ऐर, नि.प्रमुख कार्यकारी अधिकृत, नेपाल पर्यटन बोर्ड

नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले सन् २०१६ देखि सुरु भएको चिनियाँ भाषा कक्षामा अहिलेसम्म २ सय ४० जना विद्यार्थीहरुले सफलतापूर्वक अध्ययन गरेका जानकारी दिनुभयो । अध्यक्ष शाहले चिनियाँ भाषाको अध्ययन पुरा गरेका विद्यार्थीहरु यत्तिवेला ट्राभल एजेन्सी, होटल तथा रिसोर्ट सञ्चालन, टुर गाईड र भाषा शिक्षकको रुपमा कार्यरत रहेको बताउनुभयो ।

डाक्टर हरिश्चन्द्र शाह, अध्यक्ष, नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्

नेपाल पर्यटन बोर्ड र नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषदसँगको सहकार्यमा काठमाण्डूस्थित चिनियाँ राजदूतावासले सञ्चालन गर्ने सो कक्षा ६ महिनासम्म चल्नेछ । भाषा कक्षामा सहभागी हुने विद्यार्थीहरुले ६ महिनाभित्र चिनियाँ भाषा, संस्कृति र चिनियाँ खानाबारे पनि राम्रो जानकारी हासिल गर्न सक्ने आयोजकहरुले बताएका छन् । सो भाषा कक्षा नेपाल पर्यटन बोर्डमा आईतबारदेखि शुक्रबारसम्म साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

Facebook Comments