Sun. May 24th, 2026

वरिष्ठ गायक तथा संगीतकार गणेश रसिको निधन

       

 काठमाण्डू, २०८२ जेठ १८ गते आईतबार ।  वरिष्ठ गायक तथा संगीतकार गणेश रसिको  निधन भएको छ ।

ललितपुरको हरिशिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गराइरहनुभएका उहाँको आज बिहान ११ बजे निधन भएको सङ्गीतकार बुलु मकारुङले जानकारी दिनुभयो ।    रसिक ७८ वर्षका हुनुहुन्थ्यो ।

मकारुङका अनुसार रसिककी छोरी बेलायतबाट फर्किएपछि रसिकको दाहसंस्कार गरिने छ । उहाँको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

भोजपुर छिनामाखुमा वि.सं. २००४ असोज ४ मा जन्मनुभएका रसिक पचासको दशकमा इलाम सर्नुभएको थियो । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा आउनुभएका रसिकले कवि, गीतकार, सङ्गीतकार, लेखक, निबन्धकार र नियात्राकारका रुपमा परिचय बनाउनुभएको थियो ।
उहाँका सारङ्गीभित्र कथासङ्ग्रह, गणेश रसिकका गीतहरु, आकाश गंगाको ओतमुनि, दशगजामा उभिएर, जब सिस्नोहरु टेक्दै हिँडेलगायतका कथा, कविता, निवन्ध, नियात्रा र संस्मरणसहित एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उहाँका छोरा र श्रीमतीको यसअघि नै निधन भइसकेको छ । हटेर होइन, डटेर लड्ने नेपालीको बानी हुन्छ, तराई हेर कति राम्रो हरियो वन हुनाले,  हामी धेरै साना छौं-हाम्रो मुटु सानो छ-यो सानो मुटुमा विशाल देश छ,  रातो भाले क्वाँए क्वाँए सुत्केरीलाई खाँया,

मलाई राम्रो लाग्छ, मलाई प्यारो लाग्छ, लहरा पहरा छहराको देश यो, नेपालमा जन्मेर नेपाली हुनेहरु, धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ जस्ता आधुनिक, लोक तथा राष्ट्रिय गीत गाउनुभएको छ । उहाँका केही रचना विद्यालयका पाठ्पुस्तकमा पनि समावेश गरिएका छन् । उहाँले अहिलेको वासस्थान इलामको फिक्कलमा फिक्कल एफ.एम. पनि खोल्नु भएको थियो । प्रकृति प्रेमी तथा सरल स्वभावका धनी रसिकले पशुपतिनगर प्रहरी कार्यालयमा तत्कालिन माओवादीहरुले गरेको शसस्त्र विद्रोहमा आफ्ना भाइ मारिएपछिदेखि भने प्राय शोक र सुर्तामा नै जीन्दगी विताउनुपर्यो । छोराको निधन र कोरोनाका कारण श्रीमतिको निधन भएपछि रसिकमाथि ठूलो बज्रपात भयो । तर जीवनमा कस्तै कठीनाई आए पनि रसिकले हिम्मत हार्नु भएन । उहाँ नेपाली भाषा, संस्कृति र गीत, संगीतको क्षेत्रमा लागिनै रहनुभयो ।

साहित्यकार रसिकले रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्य सचिवको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो ।

 दर्जनौं पुरस्कार र सम्मानबाट पूजीनुभएका नेपाली सांगीतिक आकाशका चम्किला नक्षत्र आदरणीय गणेश रसिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछौं ।

Facebook Comments