Sun. May 24th, 2026

एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै

       

काठमाण्डू, २०८२ जेठ १५ गते बिहीबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ । उत्सव मनाउन काठमाण्डू उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।

विभिन्न स्थानबाट आ(आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

“गणतन्त्र उत्सवको र्‍याली प्रारम्भ भइरहेको छ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो दिवसलाई पटक उत्सवका रूपमा मनाउन लागिएको हो”, विभागका प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, “११ बजेदेखि सबैतिरबाट सुरु भएको र्‍याली केहीबेरमा भृकुटीमण्डपमा भेला हुन्छौँ, रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुनेछ ।”

नेपाल टेलिभिजन अनलाइनका अनुसार  एमालेले गणतन्त्रका पक्ष शक्तिलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुन आग्रह गरेको छ । गणतन्त्र उत्सवको र्‍यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेका गौतमले जानकारी दिनुभयो ।

‘गणतन्त्र जिन्दवाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद’लगायत नारा लगाउँदै विभिन्न सांस्कृतिक प्रस्तुतिसहित र्‍याली भइरहेको विभागका प्रमुख गौतमले जानकारी दिनुभयो । गणतन्त्र उत्सवमा एमालेका नेता तथा गणतन्त्र पक्षधर सबै भेला हुने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

Facebook Comments