Fri. Apr 19th, 2024

आज इस्लाम समुदायको पवित्र चाड इद उल फित्र, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं, २०७७ जेठ १२ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति  भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताउनुभएको छ ।

 उहाँले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभयो, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने अहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।”

गोरखापत्र अनलाईनका अनुसार उहाँले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको चर्चा गर्दै भन्नुभयो, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।”

उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान समेत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु नेपालमा सम्मानित र संरक्षित छन् ।”

उहाँले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको विशेष परिस्थितिमा घरमै रहेर सुरक्षित ढङ्गले चार्डपर्व मनाउन पनि आह्वान गर्नुभएको छ । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले इदुल फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको चर्चा गर्नुभएको छ ।  उहाँले भन्नुभयो, “यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु ।”
मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशी साटासाट गर्दै ईद (इदुल फित्र) पर्वलाई मनाउने गर्छन् । अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ । यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ ।

अरवी भाषामा ईद भन्नाले खुशी र फित्रले दान भन्ने अर्थ दिन्छ । ईद पर्वमा ईदगाह (खाली मैदान) व ईदगाह नभएका ठाउँमा मस्जिदमा तराबी (नमाज) पढ्ने चलन छ । यसै दिन गरिव र दीनदुःखीहरुलाई फित्र (दान) दिने चलन पनि इस्लाम समुदायमा छ । मुस्लिम समुदायमा वार्षिक कमाइको दुई दशमलव पाँच प्रतिशत दान गर्नै पर्ने नियमलाई अरवी भाषामा जकाव भनिन्छ । एक महिनासम्म हरेक दिन सूर्यास्त नहुञ्जेल उपवास बसी मनाइने यस पर्वको अन्तिम चन्द्रमाको दिन दर्शनपछि आफन्त, साथीभाइ र परिवारजन बसेर मीठा खानेकुरा खाई ईदुल फित्र मनाउने चलन छ ।

Facebook Comments