Sat. Sep 28th, 2024

पर्यटन दिवसका अवसरमा राससकर्मी गौतमसहित तीनजना सम्मानित  

म्याग्दी,२०८१ असोज ११ गते शुक्रबार । विश्व पर्यटन दिवसका अवसरमा रासस म्याग्दी प्रतिनिधि सन्तोष गौतमसहित तीनजना सम्मानित भएका छन् । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियन्ता तेजबहादुर गुरुङ, राससकर्मी गौतम र पत्रकार घनश्याम खड्कालाई सम्मान गरेको हो । गौतम विसं २०६४ देखि रासस म्याग्दी समाचारदाताका रूपमा कार्यरत हुनुहुन्छ ।

गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री र पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्माले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका गुरुङ समुद्री सतहदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पर्यटकीय सम्भावनाको खोजी र प्रवर्द्धनमा विगत एक दशक अघिदेखि क्रियाशील हुनुहुन्छ । मौरिस हर्जोग पदमार्गको पहिचान, पूर्वाधार निर्माण र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उहाँलाई सम्मान गरिएको उद्योग कार्यालयका प्रमुख शर्माले बताउनुभयो । साथै जिल्लाको पर्यटन क्षेत्रलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसारमा टेवा पु¥याएकामा पत्रकार गौतमलाई पनि सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले जिल्लामा भएका पर्यटकीयस्थलको प्रचारप्रसार र समन्वयमा भौतिक पूर्वाधार निर्माण गरेमा पर्यटक भित्र्याउन सकिने बताउनुभयोे ।

कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, बेनी नगरपालिका-८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य र धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले जिल्लाको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समस्याका बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

Facebook Comments