Sat. Sep 28th, 2024

इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो : १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता   

जकार्ता, २०८१ असोज ११ गते शुक्रबार । पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने भग्नावषेशमा पुरिएर दर्जनौं बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
सुमात्रा टापुमा अवस्थित पश्चिम सुमात्रा प्रान्तको दुर्गम क्षेत्रमा बिहीबार साँझ भारी वर्षाले पहिरो निम्त्याएको प्रान्तीय विपद् न्यूनीकरण विभागका प्रवक्ता इल्हाम वहाबले बताउनुभयो ।
“हिजो राति सुन खानीमा पहिरो गएको जानकारी हामीले प्राप्त गर्यौ । पहिरोमा दर्जनौ मानिक पुरिएका छन्, पीडितको खोजीकार्य जारी छ”, उहाँले भन्नुभयो ।
इल्हानले घटनामा १५ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको र उद्धारकर्ताले बेपत्ता भएका २५ जनाको खोजी गरिरहेको जानकारी गराउनुभएको छ ।
एएफपीका अनुसार सोलोक जिल्ला विपद् विभागले विज्ञप्तिमार्फत परित्याग गरिएको “अवैध” खानीमा पहिरो गएको जानकारी गराएको छ ।
दुर्गम ठाउँमा रहेको यस क्षेत्रमा पुग्न नजिकैको गाउँबाट घन्टौँ पैदल हिँड्नुपर्ने भएकाले उद्धार कार्यमा बाधा पुरÞ्याइरहेको इल्हामले बताउनुभयो ।
“पहिरो गएको स्थान धेरै टाढा छ । यसले उद्धारका प्रयासमा बाधा पुरÞ्याएको छ”, उहाँले भन्नुभयो ।
सोलोक जिल्ला विपद् विभागले उक्त क्षेत्रमा मोबाइल फोनको पहुँच नभएकाले उद्धारकर्तालाई एकअर्कासँग कुराकानी गर्न गाह्रो भइरहेको बताएको छ ।

Facebook Comments